वैद्यलाई आत्मालोना गर्न कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जनाएको छ ।

प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तीमार्फत बताउनुभएको छ । ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन,’ विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले सडकमासमेत बोल्न नमिल्ने कुरा सदनमा झन् बोल्नै नपाइने बताएको छ । ‘शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन । पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.