मध्य पहाडी राजमार्ग : दैलेखको पश्चिम खण्डमा कालोपत्रे सुरु

दैलेख- मध्य पहाडी पुष्पलाल राजमार्ग अन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोट देखि चक्रता र चक्रता देखि रामाघाटसम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम सुरु गरिएको छ ।

मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने तयारी अनुसार धमाधम काम सुरु गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दुरी कायम गरेर दैलेख खण्डमा पर्ने मध्य पहाडी राजमार्गका विभिन्न ८ वटा स्थानहरुमा धमाधम काम सञ्चालन भइरहेको छ ।

दैलेख सदरमुकामको पश्चिम रावतकोट देखी पादुका सम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जे.भि.को लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्ने यो बर्षबाट सुरु गरिएको छ ।

निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेता पश्चात् जेठ २५ देखि करिब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम सुरु गरिएको छ ।

गत वर्ष चैत्र देखि कोरोना संक्रमण बढेपछि काम रोकिएको र यस वर्षको असार सम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिनुभएको छ । कम्पनीको म्याद थप समेत हुन सकेको छैन ।

दैलेखको पश्चिम क्षेत्रमा रहेको करिब ३१ किलोमिटर सडक मध्ये मनसुन अघि नै करिब १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको मध्य पहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा. अर्जुन बमले बताउनुभएको छ । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ ।

कामको प्रगति, गुणस्तर, आएका समस्याहरुको समाधानका लागि सर्वपक्षीय अनुगमनले आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ ।

दैलेख सदरमुकामको पूर्वी क्षेत्र लोहोरेदेखि सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
जिल्लाको गौरवको आयोजना भएकोले सडक खण्डमा देखिएका समस्याहरुको स्थलगत रुपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभएको छ ।

आफू जिल्लामा आए लगत्तै गौरवका आयोजना र अन्य सबै खाले योजना आयोजनाको प्रभावकारीताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ ।

मध्य पहाडी राजमार्ग कालोपत्रे गर्दै मजदुर ।

कामको गुणस्तरीयता र सडक क्षेत्रमा बायोइन्जिनियरिंग गर्ने काम प्रभावकारी बनाउने लगायतका विषयमा स्थलगतरुपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताउनुभएको छ ।

दैलेखको पूर्व देखि पश्चिम खण्डका अधिकांश भूभाग मध्य पहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली काँग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

दैलेख जिल्लाभर १ सय २५ किलोमिटर मध्य पहाडी राजमार्ग मध्ये आगामी एक वर्ष भित्र सबै स्थानमा कालोपत्रे सक्ने तयारी गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.