एक अर्ब रुपैयाँको लगानीमा ‘पटिहानी रिसोर्ट’: सञ्चालनको अन्तिम तयारी

चितवन- पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म ७५ करोड रुपैयाँ लगानी भइसकेको जनाउँदै उहाँले सबै काम सम्पन्न गर्दा रु एक अर्ब हाराहानी खर्च हुने बताउनुभयो ।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उहाँले जानकारीदिनुभयो ।

रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ ।

बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्था गरिएको छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ ।

मुख्यरूपमा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । यस रिसोर्टका सञ्चालकसमेत रहनुभएका भरतपुर महानगरपालिका-२२ का वडाध्यक्ष विष्णु महतोले आफ्नो वडामा छवटा सुविधासम्पन्न होटल पुगेको बताउनुभयो । ती होटलमा पाँच अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको उहाँको अनुमान छ । ठूला होटलमा मात्रै ३०० जनाको क्षमता रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.