नेपाली काँग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आजबाट सुरु हुँदै

काठमाडौं- नेपाली काँग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आजबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तह अन्तर्गत वडा अधिवेशन आजबाट सुरु हुन लागेको हो ।

यस अधिवेशनले देशभरका ६ हजार ७ सय ४३ वडाबाट करिब ४ लाख प्रतिनिधि चयन हुने छन् । निर्वाचन समितिका अनुसार पहिलो चरणमा क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लामा अधिवेशन हुनेछ ।

सबै जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक नहुँदा फरक फरक समयमा वडा अधिवेशन गर्न लागेको कांग्रेसको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले भदौ २७ गते हुने नगर अधिवेशन अघिनै वडा अधिवेशन सम्पन्न गर्ने जनाएको छ । वडा अधिवेशनले आफूमध्येबाट एक जना सभापतिसंगै दुइ/दुई जना उप–सभापति, सचिव र सह–सचिव चयन गर्ने छ ।

कम्तीमा तीन महिला सहित नौ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । निर्वाचित सभापतिले महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट छ जना र वडाको जनसंख्याको बनोट अनुसार तोकिए बमोजिम समानुपातिक आधारमा कूल संख्याको वीस प्रतिशत सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ ।

असोज ५ गते क्षेत्रीय अधिवेशन हुँदैछ । जसले १४ औं महाधिवेशनका लागि करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.