चार दिनदेखि उठ्न थाले पनि काठमाडौँमा उस्तै फोहोर

काठमाडौं– विगत चार दिनदेखि फोहोर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन ।

अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थालिए पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत अन्य ठाउँमा समेत सडक किनारामा फोहरको डङ्गुर उस्तै नै छ । नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।

लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहेको पनि महानगरपालिकाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.