प्रतिनिधिसभाको बैठकमा ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश’ पेश

काठमाडौँ-  प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यसअघि प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको थियो । सङ्घीय संसद्को नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेपछि १५ मिनेट स्थगन भई सुरु भएको दोस्रो बैठकमा पनि सांसदले नाराबाजीसहित वेल घेराउ गरेका थिए ।

उनीहरूले आफूले कारबाही सिफारिस गरेका सांसद्लाई बैठकमा नराख्न माग गरेका थिए । विरोधकै बीच सभामुखले आफ्ना अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो ।

पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि एमालेका सांसदले आआफ्ना स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख सापकोटाले सांसदलाई उनीहरूको मागबारे आफ्नो ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेका थिए ।

एमालेले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगरेर एमाले विभाजनमा सहयोगी बनेको आरोप लगाउँदै सभामुखको भूमिकाप्रति आपत्ति जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश’ पेश गर्नेलगायत कार्यसूची छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वेसम्बन्धी अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि पेश गर्ने, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश र सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ स्वीकृतिका लागि पेश गरिने कार्यसूची थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.