माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो बसेको स्थायी कमिटीको निर्णयबाट यसलाई महाधिवेशनमा परिणत गरिएको हो ।

महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्नुहुने कार्यक्रम छ ।

महाधिवेशनमा देशभरी तथा अन्तराष्ट्रिय समेत गरी करीव १ हजार ६ सय ३१ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

विचारको नयाँ संश्लेषण गर्दै समाजबादको नयाँ आधार तय गर्ने लक्ष्यसहित माओवादी केन्द्रले महाधिवेशन लागेको हो ।

गत मङ्सिर ४ गते वडासम्मेलन शुरु गरेको माओवादीले मङ्सिर ११ गते देशभर पालिका सम्मेलन आयोजना गरेको थियो । यस्तै मङ्सिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गरेको थियो ।

यसअघि हिजो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सम्मेलनबाट गरिने निर्णयहरु भन्दा महाधिवेशनले गर्ने निर्णयहरु उच्चस्तरको हुने भएकाले पार्टीको संगठन, योजना, कार्यक्रम, राजनीतिक विश्लेषण तथा रणनीति लगायतका विषयमा उच्चस्तरको निर्णय गर्न आवश्यक देखिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेसनमा रुपान्तरण गरिएको सो पार्टीले जनाएको छ ।

स्थायी कमिटिको सो निर्णयलाई अनुमोदन गर्न आज विहान केन्द्रीय कमिटिको बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने बुझिएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णवहादुर महराले बताउनुभयो । महाधिवेशनले विभिन्न प्रस्तावहरुमा छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको छनौट गर्ने सो पार्टीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.