पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुपर्छ : मुख्यमन्त्री राउत

जनकपुर- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज जनकपुरधाममा आयोजित ‘बहुक्षेत्रीय पोषण योजनासम्बन्धी’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले पोषणसम्बन्धी सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकाले यसलाई जनस्तरसम्म लैजानुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री राउतले अन्नको भण्डारको रुपमा रहेको प्रदेश नं २ मा बालबालिका कुपोषणको शिकार हुनुका प्रमुख कारण यससम्बन्धी जानकारीको आभाव रहेको उल्लेख गर्दै कुपोषणको समस्यामा सुधार ल्याउन पोषणसम्बन्धी कार्यक्रमलाई जनजनसम्म लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेश नं २ अन्नको भण्डार मात्र नभई दूध, फलफूललगायत खाद्य सामग्रीको पर्याप्तता हुँदाहुँदै यसको उपयोगसम्बन्धी जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुःखद् रहेको बताउँदै उहाँले पोषणसम्बन्धी तथ्याङ्कले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाए पनि सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्करप्रसाद साहले पोषणसम्बन्धी कार्यक्रमलाई सहरी क्षेत्रमा नभई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिलाविक्रम थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झालगायतले प्रदेश नं २ मा पोषणको अवस्था र सुधारका लागि अपनाउनुपर्ने नीतिका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.