सीसीएमसीद्वारा भोलिदेखि जोरविजोर हटाउन सिफारिस, फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने

काठमाडौं– कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले भोलिदेखि काठमाडौं उपत्यकाको जोरविजोर हटाउन सिफारिस गरेको छ ।

आज बसेको बैठकले उपत्यकाको जोरविजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको सीसीएमसी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो । जोरविजोरले सवारीमा झन् भिडभाड बढेको भन्दै हटाउन जनस्तरबाट माग हुँदै आएको थियो ।

बैठकले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सिफारिस गरेको छ । १२ वर्षमाथिका विद्यार्थीहरु अध्ययन गर्ने कक्षा नियमित गर्न र त्यसभन्दा तलका विद्यार्थीहरुलाई आलोपालो गरेर कक्षा चलाउन सीसीएमसीले शिक्षा मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बैठकले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जीम, स्वीमिङ पुल, फुटसल जनस्वास्थ्यको पालना गर्दै फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न गृह मन्त्रालय र पर्यटन मन्त्रालयाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिनुभयो ।

सीसीएमसीले आफ्नो जिल्लाको कोभिड संक्रमण अवस्था हेरेर स्मार्ट लकडाउनको विधिअनुसार निरीक्षण र निगरानी गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै एक सय जना अथवा कुल क्षमताको ५० प्रतिशत रहने गरी पार्टी प्यालेस सञ्चालन गर्न र कुल क्षमताको ५० प्रतिशत दर्शक रहने गरी खेलकुद गतिविधि सञ्चालन गर्न पनि सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.