कोभिडविरुद्धको खोप शतप्रतिशत जनतालाई लगाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

सुर्खेत- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शतप्रतिशत जनतालाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रेरित गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि र राजनीतिकर्मीको पनि भएको बताउनुभएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘कोभिड-१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक एक दिने अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्याउन लाग्नुपर्ने बताउनुभएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष तिमिल्सिनाले आम नागरिकको आवश्यकता र समस्या बुझ्ने र नजिकबाट चिन्ने जनप्रतिनिधि भएकाले कोभिड विरुद्धको खोप अहिलेको आवश्यकता भएकाले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

कर्णाली प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु र प्रदेश सभा सदस्यहरू सहभागी कार्यक्रममा उहाँले सरकारको तथ्याङ्क हेर्दा कोभिड विरुद्धको खोप उपलब्ध हुँदाहुँदै पनि लगाउन नमान्ने जनसंख्या उल्लेख्य रहेकाले खोप लगाउन जान जनतालाई प्रेरित गर्नुपर्ने बताउनुभयो।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभा सभामुख राजबहादुर शाही, मन्त्री तथा सांसदहरु, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. पाण्डव, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्र लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.