नेपाल टेलिभिजनसँग राष्ट्रिय प्रसारकको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्वः सञ्चार मन्त्री
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको साख र विश्वसनीयतालाई कायम राख्दै सबैको रोजाइको टेलिभिजन बनाउन संस्थानका सबै एक भएर लाग्न निर्देशन दिनु भएको छ । नेपाल टेलिभिजनको निरीक्षण भ्रमण पछि आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले अन्य प्रतिस्पर्धी च्यानलका बीचमा पनि नेपाल टेलिभिजनसँग राष्ट्रिय प्रसारकको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व समेत रहेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मन्त्रालय समालेपछि पहिलोपटक नेपाल टेलिभिजनको निरीक्षण भ्रमण गरी टेलिभिजनको बर्तमान अवस्था र भावी योजनाहरुबारे जानकारी लिनु भएको हो । नेपाल टेलिभिजनको निरिक्षण भ्रमण पछि आयोजित कार्क्रममा सञ्चारमन्त्री कार्कीले पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर राष्ट्रिय एकता सुदृढ गर्ने गरी अगाडि बढ्न निर्देशन दिनु भयो ।
मन्त्री कार्कीले नेपाल टेलिभिजनलाई थप व्यवसायिक, प्रभावकारी, गुणस्तरीय र विश्वसनीय बनाउन संस्थानका सबै एक लाग्न सुझाव पनि दिनुभयो ।
मन्त्री कार्कीले नेपालको हार्दिकता आतिथ्यता संस्कृति र सम्पदा विश्व सामु पुर्याउन अंग्रेजी माध्यमको च्यानल आवश्यक रहेको बताउनुभयो । उहाँले संसदबाट अनुमोदन भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी अन्तरगतको ट्रान्समिसन लाइन र ७७ किलोमिटर अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण आयोजना कार्यान्वयन गराउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले दर्शकको रोजाइमा नेपाल टेलिभिजन सधैँ पहिलो रहेको उल्लेख गर्नुहुँदै स्पष्ट कार्य योजनासहित आएमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । संस्थानमा कर्मचारीको वृत्तिविकासको समस्यालाई छिटो टुङ्गोमा पुर्याउनुपर्ने उल्लेख गर्नुहुँदै सचिव अर्यालले संस्थानको थप विकास र विस्तारका लागि व्यवसायिक कार्य योजनासहित अघि बढ्न निर्देशन दिनुभयो।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले नेपाल टेलिभिजनको वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराउनु हुँदै एनटीभी वर्ल्ड सञ्चालनका लागि सरकारले सञ्चालन खर्च दिने व्यवस्था गर्न आग्रह गर्नु भयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले एनटीभी वर्ल्डको आवश्यकता, त्यसको लागि भइरहेको तयारी र अब गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल टेलिभिजनका हाल ५ वटा च्यानल प्रसारणमा रहेका छन् भने एनटीभी वर्ल्ड सञ्चालनको तयारीमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्