गठबन्धन कुनै पनि हालतमा तोड्न हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको दलहरुबीचको गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरा पुन: दोहोर्‍याउनुभएको छ । गठबन्धनका कारणले अहिले नेपाली काँग्रेसले विभिन्न प्रदेश सरकारको नेतृत्व गरिरहेको भन्नुहुँदै सभापति देउवाले यसलाई आफ्नो सफलतासँग जोड्नुभएको थियो । सभापति देउवाले गठबन्धनलाई कुनैपनि हालतमा तोड्न नहुने पनि धारणा राख्नुभयो ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा नेवि संघले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले नेवि संघको संगठन स्कुलदेखि कलेजसम्म विस्तार गर्न नेवि संघलाई निर्देशन पनि दिनुभएको थियो ।

नेपाल गाउँ नै गाउँको देश भएकोले गाउँबाटै संगठनको आधार निर्माण गर्न सभापति देउवाले नेवि संघको कार्यवहाक सभापतिलाई निर्देशन दिनुभएको हो ।

कार्यक्रमा सम्बोधन गर्नुहुँदै उहाँले अब देशको नेतृत्व लिने जिम्मेवारी युवा र विद्यार्थीहरुमा आएकोले यसका लागि तयार रहन आग्रह गर्नुभयो ।

नेवि संघका आम कार्यकर्ताहरुले पढाइ र क्षमतालाई अब्बल बनाउँदै देशको नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । सभापति देउवाले पढाइमा फेल हुने अनि नेता बन्छु भन्दा जनताले नपत्याउने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र व्यवस्थाको रक्षा गर्न स्थानीय निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.