स्वाबलम्बी महिला सबल युवा : काठमाडौँमा नेतृ सिंहको संकल्प प्रस्ताव सार्वजनिक

काठमाडौँ- नेपाली काँग्रेसकी नेतृ एवं आगामी स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा सत्ता साझेदार दलहरुको तर्फबाट साझा उम्मेदवार सिर्जना सिंहले आज आफ्नो संकल्प पत्र सार्वजनिक गर्नुभएको छ ।

आफ्नो चुनावी संकल्प प्रस्ताव सार्वनजिक गर्नुहुँदै नेतृ सिंहले काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले महानगरको फोहोर भान्छाबाट नै नयाँ ढंगले व्यवस्थापन गरिने बताउनुभएको छ । घरघरबाट निस्केको फोहोरलाई घरमै व्यवस्थापन वा प्राङ्गारिक मल उत्पादन गर्ने नयाँ प्रविधि ल्याइने उहाँको भनाइ थियो ।

नेतृ सिंहले महानगरका बृद्दबृद्दालाई मन भुलाउने र रमाइलोसँग दिन बिताउन सार्वजनिक स्थानमा पार्कहरुको व्यवस्था गरिने बताउनु भएको छ ।

उहाँले युवा र वेरोजगारहरुलाई लक्षित गरी नयाँ कार्यक्रम ल्याइने र गृहणी महिलाहरुको योगदानलाई महानगरपालिकाको आयआर्जनसँग जोड्ने प्रतिवद्दता पनि जनाउनुभएको छ । आफ्नो घोषणा पत्रमा मेयर पदकी उम्मेदवार सिंहले काठमाडौँको सडक सफा र हराभरा बनाउने योजनासमेत उल्लेख गर्नुभएको छ । यसका साथै सार्वजनिक यातायातको सहज र सुरक्षित यात्रालाई सुनिश्चित गरिने प्रतिवद्दता पनि उहाँले व्यक्त गर्नुभएको छ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिका भित्रको अस्तव्यस्ततालाई हटाउनुपर्ने पहिलो प्राथमिकता भएको र अब महत्वाकांक्षी योजना भन्दा प्रत्यक्ष स्थानीयलाई सहयोग पुग्ने काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले पार्टीका सबै पंङ्तिलाई एकताबद्द भई निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन अपिल पनि गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.