काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेसँगै उच्च सतर्कता, भदौ १५ गतेसम्मका लागि निषेधादेश

काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा गएराती १२ बजेदेखि लागू हुनेगरी विभिन्न गतिविधिमा निषेधादेश जारी गरिएको छ ।
भदौ १५ गते राती १२ बजे सम्मका लागि जारी आदेशअनुसार ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा गएरातिबाट भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । लमजुङको सुन्दरवजार नगरपालिकामा पनि समूदायमाकोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यलयले निशेधाज्ञा जारी गरेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा अहिले बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण रुपन्देहिको सिद्धार्थनगर क्षेत्र भित्र फैलिदै गएपछि सिद्धार्थनगर नगरपालिकाले पनि भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्