रामेछाप बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु

रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ५ लुभुघाट नजिकैको बेलडाडाँमा आज भएको बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
रामेछापको डोग्माबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडाबाट करिव ३ सय मिटर तल खोलमा खसेको जिल्ला समन्वय समितिका उपप्रमुख तथा स्थानीय बासिन्दा प्रेमसागर थापाले बताउनुभयो । केही घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडिले बताउनु भयो ।
उहाँका अनुसार बसमा करिव ३० जना यात्रुहरु सवार थिए । दुर्घटना स्थलमा सवैभन्दा पहिला घाइतेको उद्धारका लागि लुभुघाट प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दा पुगेका थिए । दुर्घटना स्थलमा थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट रामेछापका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिनले बताउनु भयो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा घाइतेहरुको कोलाहाल रहेको स्थानीय बाबुराम थापाले बताउनुभयो । एम्बुलेन्समा पठाउन नसकिएका केहि घाइतेको उद्धारका लागि काठमाण्डौंबाट हेलिकप्टर आउने भनिएको भएपनि अहिले सम्म हेलिकप्टर नआएको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता थापाले बताउनुभयो । उहाँले दुर्घटनामा मृत्यु हुनेको संख्या अझ कम्तिमा ९ जना भएको र केहि घाइतेको उपचारका लागि धुलिखेल लादै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्