विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि चार्टर उडान पुन: शुरु (भिडियो)

काठमाडौं- कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि चार्टर उडान पुन: शुरु भएको छ ।

यही साउन ३० गतेबाट विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने सरकारको निर्णयको कार्यान्वयन भएको हो ।

नेपालका दुई वायु सेवा कम्पनी- नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सहरुले नेपालीलाई स्वदेश फर्काउन चार्टर उडान गर्न लागेका हुन्।

नेपाल एयरलाइन्सले भाद्र १ गतेदेखि १५ गतेसम्म उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ भने हिमालय एयरलाइन्सले साउन ३० गते देखि भाद्र १४ गतेसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेको छ।

यसअधि सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान खोल्ने घोषणा गरेको भएपनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि भदौ १५ गतेसम्म व्यवसायिक उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

विदेशमा अलपत्र परेका नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् । सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।

तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफ्नै खर्चमा टिकट लिएर आउने छन् ।

स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट ५० हजार ६सय ६२ जना नेपाली स्वदेश फर्किसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.