मेयरको अपिल– ‘यसपटक चेलीबेटीलाई माइती नबोलाउनुस्’
काठमाडौं– महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर रामेश्वर श्रेष्ठले यसपटकको तिजमा चेलीबेटीलाई माइती नबोलाउन अपिल गर्नुभएको छ ।
तीजको पूर्वसन्ध्यामा पारिवारिक भेटघाट र सामूहिक खानपिनको सम्भावना रहेको भन्दै मेयर श्रेष्ठले तिज परिवारभित्रै मनाउन अपिल गर्नुभएको हो । ‘नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई थाहा नै छ, विश्वव्यापी कोरोना महामारी झन् वृद्धि हुने क्रममा रहेको छ । उपत्यकामा पनि संक्रमण दर वृद्धि हुँदै गएको छ,’ सोमबार एक अपिल प्रकाशित गर्दै मेयर श्रेष्ठले भन्नुभएको छ, ‘तसर्थ, तीज पर्वमा चेलीबेटीलाई घरमा निम्ता नगर्न, सामूहिक खानपिनको कार्यक्रम आयोजना नगर्न, नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाडमा नजान अपिल गर्दछु ।’
विगतका वर्षहरुमा भए माइतीघर, विभिन्न मठमन्दिर तथा सार्वजनिक स्थलमा मनाएको स्मरण गर्दै उहाँले यसपटक फरक परिस्थितिमा वास्तविकता आत्मसात् गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कोरोना भाइरस (कोभिड– १९)को महामारीका कारण सामूहिकरुपमा खुसी र मनोरञ्जन साटासाट गर्न सम्भव भएन ।’
चाडवाड, मनोरञ्जनभन्दा पनि अहिले जीवनको सवाल महत्वपूर्ण उहाँको भनाइ छ । ‘महामारीबाट जीवन जोगाउन सकिएमात्रै पछि आउने चाडवाड मनाउन पाइन्छ । यही यथार्थतालाई हृदयंगम गर्दै घरमै बसेर, मास्क, स्यानिटाइजरको प्रयोग गरेर सुरक्षित रुपमा यसपटकको तीज पर्व मनाइदिनुहुन विनम्र अनुरोध गर्दछु,’ मेयर श्रेष्ठद्वारा जारी अपिलमा भनिएको छ ।






प्रतिक्रिया राख्नुहोस्