करार कर्मचारी हटाएर फेरि करार नै भर्ना गर्दै स्थानीय तह

दार्चुला– स्थानीय तहमा नेतृत्व फेरिदा अघिल्ला जनप्रतिनिधिको कार्यकालमा भर्ना गरिएका धेरैजसो करारका कर्मचारी धमाधम हटाइन लागेका छन् ।

दार्चुलाका धेरैजसो स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी करार सम्झौता थप नगर्ने जनाएका हुन् । उनीहरुले वर्षौदेखि काम गरिरहेका करार कर्मचारीहरुलाई आफूखुसी बिदा गरेका छन् । स्थानीय तहले आवश्यकताअनुसार करारमा कर्मचारी राख्न र हटाउन पाउँछन्, तर उचित कारण खुलाउनुपर्दछ । यस्तै संघ सरकारबाट वितरित सशर्त अनुदानमा सञ्चालित राष्ट्रिय कार्यक्रमका लागि पनि करारमा कर्मचारी भर्ना गरिएका छन् । ती कर्मचारी पनि नयाँ जनप्रतिनिधिको निसानामा छन् ।

नयाँ आर्थिक वर्षमा करार अवधि नवीकरण नगरी कतिपय स्थानीय तहले नयाँ भर्नाको प्रक्रियासमेत अघि बढाएका छन् । पालिकामा स्थायी कर्मचारी कम हुदाँ पनि स्थानीय तहहरु स्थायी पदपूर्ति गर्न छोडेर फेरी पनि करार कर्मचारी नै पदपूर्ति गर्न लागेका हुन् ।

जिल्लाको शैल्यशिखर नगरपालिकाले एकैपटक ठूलो संख्यामा करार कर्मचारी हटाइ ९० जनाको नयाँ भर्ना आवेदन खोलेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह विष्टले स्वास्थ्य क्षेत्रका ८० जना र नगरपालिकाका ४० जना गरेर १ सय २० जना करार कर्मचारीको म्याद नथपिएको बताउनुभयो । यस्तै जिल्लाको व्यास गाउँपालिकाले पनि करार कर्मचारी हटाएर नयाँ आवेदन खुला गरी भर्ना गर्न लागेको छ । व्यासले २८ जना कर्मचारीका लागि नयाँ आवेदन खोलेको छ । यस्तै दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिकाले पनि करार कर्मचारी भर्नाका लागि नयाँ आवेदन माग गरेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई करार कर्मचारी लिने विषयमा प्रक्रिया पुर्‍याएर गर्न चेतावनीसहित सूचित गरेको छ । विभिन्न स्थानीय तहले एकमुष्ट रुपमा करार कर्मचारी हटाइ पुनः सयौँको संख्यामा विज्ञापन गरेको उजुरी आएकाले खाली पदहरुमा लोक सेवा आयोगसँग माग गरी विवरण पठाउन तथा कानून बमोजिम गर्न भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.