एसईई नतिजा प्रकाशित
काठमाडौं– २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण सुरु भएपछि सरकारले अन्तिम समयमा परीक्षा स्थगित गरेपछि पहिलोपटक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको हो । ४ लाख ८२ हजार ९ सय ८६ जनाले परीक्षा फाराम भरे पनि राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जनाको प्रमाणित प्राप्तांकको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
२०७६ साल चैत ६ गतेदेखि गर्ने तयारी भएको एसईई परीक्षा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले अघिल्लो दिन स्थगित गरेको थियो । महामारी नरोकिएपछि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेर सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
१९९० सालदेखि हुँदै आएको एसएलसी (हाल: एसईई) परीक्षा पहिलोपटक परीक्षा नै नगरी आन्तरिक मूल्यांकनका आधारमा सार्वजनिक गरिएको हो ।
यसपटक पुनर्योग तथा पुरक ग्रेड वृतिको परीक्षा नहुने डा. पौडेलले जानकारी दिनुभयो ।
बोर्डले विद्यालयबाट प्राप्त भएको नतिजालाई प्रमाणिकरण गरिएकाले जीपीए विश्लेषण गरेको छैन ।
बोर्डले तीन जना परीक्षार्थीको नतिजा भने रोकेको छ । प्राविधिक कारणले रोकिएको बोर्डको भनाइ छ ।
डा. पौडेलले आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेकाले यसपटक विगतकोभन्दा नतिजा राम्रो आएको बताएका छन् ।
नतिजा केहीबेरमा www.results.nepaltvonline.com मा हेर्न सकिनेछ ।
प्रतिक्रिया राख्नुहोस्