सभाअध्यक्षहरुको पाँचौ विश्व सम्मेलन ‘भर्चुअल’, राष्ट्रिय सभा अध्यक्षद्वारा सम्बोधन

काठमाडौं– संसदका सभाअध्यक्षहरुको पाँचौ विश्व सम्मेलन ‘भर्चुअल’ माध्यमबाट सुरु भएको छ।

आईपीयू र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ् अष्ट्रिया) को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा दुई सांसद सहभागी हुनुहुन्छ। सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याल सहभागी हुनुहुन्छ।

नेपालको संसदको तर्फबाट सहभागी हुँदै अध्यक्ष तिमिल्सिनाले नेपाल अहिले नयाँ संविधान निर्माण गरि दिगो विकासको लक्ष्य प्राप्तिका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित अगाडि बढिरहेको बताउनुभयो। विश्वले कोरोनालाई छिट्टै पराजित गरि जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने बताउनुभयो।

‘हाल विश्व समुदायले भोगिरहेको कोभिड- १९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधिहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक स्थायित्व, रोजगारी सृजना र स्वास्थ्य क्षेत्रमा सृजित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो।’ उहाँले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्यका लागि अन्तर व्यवस्थापिका संघ जस्ता बहुपक्षीय संस्था सँग एकिकृत प्रयास र एकताका लागि संसद क्रियाशील हुनुपर्ने बताउनुभयो।

प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यसवर्ष अष्ट्रियाको भियनामा हुने तय भएको थियो। तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट भएको हो।

सम्मेलन आगामी २०२१ मा पुनस् अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ। सयभन्दा बढी देशका संसदको सहभागिता रहेको सम्मेलको मुख्य विषय ‘मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व’ रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तन र सुशासन प्रबर्द्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ । सम्मेलन भर्चुअल भएकाले सहभागी राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.