दसैंमा यात्रु ठग्ने ३३ पक्राउ
काठमाडौं- काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् ।
यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ ।
खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको छ । कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायी लगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारी साधनको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्