आइसोलेशन तोडफोड

सङ्खुवासभा- सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । गएराति खाँदबारी नगरपालिका-७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।

आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर निर्माण गरेको थियो । जिल्ला अस्पतालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ ।
अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिइ थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले करीब पाँच महिना अगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेशन निर्माण गरेको थियो । गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टिन र आइसोलेशन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो ।

क्याम्पस प्रशासन र स्थानीयवासीले जोखिम बढ्ने भनी आइसोलेशन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेशन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो ।

आइसोलेशन तोडफोड गर्ने अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिनुभयो । सोमबार धर्मदेवी नगरपालिका-४ पिलुवाखोलामा क्वारेन्टिनमा रहेका धर्मदेवी–४ का ३४ वर्षीय तथा चैनपुर नगरपालिका–११ का २४ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुलाई बिहीबार क्याम्पसमा निर्माण भएको आइसोलेशनमा ल्याउने भएपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए ।

अहिले तीन कोरोना सङ्क्रमितको हिमालय क्याम्पसमै उपचार भइरहेको अस्पतालका प्रशासन जनाएको छ । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.