तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’
तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो ।
आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १८८ मिटर केवल टनेलको काम सम्पन्न भएको जानकारी दिनुभयो । “केवल टनेलको ब्रेक थु्रु भएको छ, अब विद्युत गृह निर्माणको काम शुरु हुन्छ, त्यसका लागि तयारी भइरहेको छ,” भण्डारीले भन्नुभयो ।
भण्डारीका अनुसार कोभिड-१९ का कारण शुरुआती चरणमा केही समयका लागि काममा असर परे पनि हाल निरन्तर काम भइरहेको छ । केवल टनेलबाट विद्युत् गृहमा तारहरु लगिनेछ ।
आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता भएको थियो ।
एडिबीले चार वटा कम्पनीको प्रस्तावलाई रद्द गरिदिएपछि अब नयाँ ठेक्का प्रक्रिया शुरु गर्न कम्तीमा छ महिना लाग्ने बताइएको छ । बोलपत्र रद्द भएपछि आयोजनाको निर्माण अवधि पनि पछाडि धकेलिएको छ ।
आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ । बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप पाँच प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ ।
आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृत् गृह निर्माण गरिने छ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।-
प्रतिक्रिया राख्नुहोस्