जिल्लामा पुग्न थाल्यो मतपत्र

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र जिल्ला पुग्ने क्रम सुरु भएको छ ।
निर्वाचन आयोगले ओखलढुंगाका लागि पठाएको मतपत्र आइतबार जिल्ला पुगेको छ । जिल्लाका लागि २ लाख ६१ हजार मतपत्र पुगेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।
संघमा एउटा र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रत्यक्षतर्फको मतपत्र र आवश्यक सबै सामग्री जिल्ला पुगेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसअघि समानुपातिकतर्फको २ लाख ६४ हजार मतपत्र जिल्ला पुगेको थियो ।
ओखलढुङ्गामा मतदाताको संख्या १ लाख १७ हजार ८ सय ९७ रहेको छ । आयोगले मतदाता संख्याभन्दा बढी मतपत्र जिल्ला पठाएको छ ।
मतपत्र काभ्रेमा पनि पुग्यो
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको मतपत्र काभ्रेमा पनि पुगेको छ ।
नेपाली सेनाको कडा सुरक्षाबीच प्रतिनिधि सभा १ को निर्वाचन कार्यालय पनौती र प्रतिनिधि सभा २ को निर्वाचन कार्यालय धुलिखेलमा मतपत्र पुगेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिनिधि सभा १ को लागि १ लाख ६८ हजार र प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा १ को लागि ८५ हजार र प्रदेश सभा २ को लागि ८४ हजार मतपत्र आएको हो । त्यस्तै प्रतिनिधि सभा २ को लागि १ लाख ७४ हजार र प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा १ का लागि ८५ हजार र प्रदेश सभा २ को लागि ८९ हजार मतपत्र पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा ३ सय ८९ मतदान केन्द्रबाट ३ लाख १० हजार ६३ नागरिकले मतदान गर्ने छन् ।






प्रतिक्रिया राख्नुहोस्