छिन्टापु : प्रकृतिले सिँगारिएको हिमाल (फोटो फिचर)

इलाम (छिन्टापु)– सिरसिर हावा अनि छिनछिनमा कुहिरोले समाउँदै छोड्दै गरेको छिन्टापु स्वर्ग झै छ । समुद्र सतहबाटै आए झै गरि बहने हावासँगै बग्ने हुस्सु कुहिरोले छिन छिनमै छिन्टापु पहाड कक्रक्क हुने गरी समाउँछ र छिन भरमै घुम्टो हटाएको दुलहीको मुहारै झै बन्छ ।

हुस्सु कुहिरोले छोप्दा छिन्टापु पर्यटकका लागि लुकामारी खेल्ने एकान्तको कोठा झै बन्छ । तीब्र हावाले ढाकिएको हुस्सु कुहिरो हटाउँदा छिन्टापु नव दुलहीको घुम्टो हटाएको सुन्दर मुहारझैँ हुन्छ ।

पूर्वी नेपालको पहाडी जिल्ला इलामको छिन्टापु समुद्री सतहबाट तीन हजार २ सय मिटरको उचाइमा छ । जति घुमे पनि धित नमर्ने छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको उत्कृष्ट पर्यटकीयस्थल हो ।

वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँसले छिन्टापु सजिन्छ । लालीगुराँसले सजिएको बेला छिन्टापु सँगै बाँच्ने र सँगै मर्ने वाचा कसम खाएका सुन्दर जोडी झै देखिन्छ । छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्य टल्कदा आहा बयान गर्ने शब्द नै छैन । छिन्टापु आसपासमा साँस्कृतिक महत्व बोकेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरी, जोरपोखरी लगायत आधा जर्नन बढी पोखरीको दृश्यले अझ मन प्रफुल्लित बनाउँछ ।

बर्षौं लगाएर बनाइने कृतिम सुन्दरतालाई हजारौँ किलोमिटर टाढा छोड्ने छिन्टापु विश्वभरमा बेच्नसके अर्थतन्त्रको आधार नै बन्छ । इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुको सुन्दरता नेपाल भित्रमात्रै हैन, भारत हुँदै विश्वभर बिस्तारै फैलँदैछ । जसले गर्दा खाने र बस्ने पूर्वाधार बिना पनि पर्यटकले आफ्नो घुमफिर र वर्षौदेखिको पिडा भुलाउने गन्तव्य बन्न थालेका छन् ।

छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले स्वागत गर्छ । अरुबेला हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फुल र जताफर्के पनि गौतमवुद्धले ध्यान गरेझै देखिने दर्जनौं हिमाली दृश्यले स्वागत गरेकै हुन्छ । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले अथाह सम्भावना भएको गन्तव्य भएसँगै पर्यटकीय पूर्वाधार निर्माणमा तीनै तहका सरकारको ध्यान तानेको छ ।

छन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे हुँदै छिन्टापु जोड्ने पदमार्ग संघीय सरकारले निर्माण गरेको छ । प्रदेश प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूर हुँदै सन्दकपूर ५ को ढापपोखरी जोड्ने पदमार्गबाट छिन्टापु जोडिएको सन्दकपुर गाउँपालिका निर्वतमान अध्यक्ष उदय राईले बताउनुभयो । छिन्टापुमा १ नम्बर प्रदेश सरकारको लगानी पनि बढ्दो छ । प्रदेश सरकारबाट छिन्टापु पहाड पुग्ने साना सवारीसाधन पुग्ने सडक पर्यावरणको ख्याल गर्दै निर्माण हुँदै आएको छ ।

हिमाली दृश्यमा मज्जाले रमाउन सकिने छिन्टापुमा विश्वभरका पर्यटक पुर्‍याउन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको १ नम्बर प्रदेश पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वाले बताउनुभयो । ‘संघीय सरकारबाट पदमार्गले जोडिएको छिन्टापुमा हामी साना सवारीसाधन पुर्‍याउने गरि सडक सोलिङ गर्दै आएका छौँ,’ मन्त्री लङ्वाले भन्नुभयो, ‘हामी पर्यावरण र जैवीक विविधता नबिग्रने गरि पर्यटकीय पूर्वाधार निर्माणमा लागेका छौँ ।’

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ (टावर) झैँ उभिएको छिन्टापु जल, जंगल र जडिबुटीको भण्डार हो भन्दा फरक पर्दैन । महाभारत पर्वतको दोस्रो अग्लो डाँडोमा पुग्दा हिमाली दृश्य र प्राकृतिक सुन्दरताले उच्च पहाडको यात्राले तीब्र गतिमा दौडिएको मुटुपनि आनन्दले रमाएझै हुन्छ । चिसो कठ्याङ्रिएका हात र अग्लो पर्वत चढ्दा घोटिएका गोडाको पिडा यहाँ फुल्ने जडिबुटीका सुगन्धले मेटाएको झै आनन्द दिन्छ ।

इलामका चार खोलाको मुहान छिन्टापुबाट नेपाली र भारतीय भु–भागको दृश्यावलोकनले हरेकको मन फुरुङ्ग बनाउन छ । प्राकृतिक सुन्दरतामा रम्न सकिने छिन्टापुमा पर्यटकका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको सन्दकपूर २ का अध्यक्ष सनम राईले बताउनुभयो । ‘पर्यटकहरु जाँदा खाने र बस्ने आफैँ बोकेर जानुपर्ने बाध्यता छिन्टापुमा छ,’ वडाध्यक्ष सनम राई भन्छन्, ‘ संघीय र प्रदेश सरकारको गुहारेर भएपनि पदमार्ग, सडक र अन्य पूर्वाधार निर्माणका काम भएका छन्, यसलाई हामी निरन्तरता दिने योजनामा छौँ ।’ छिन्टापुको शिरबाट राते, गिताङ र पुवामाई खोलाको मुहान फुट्छ । अग्ला पहाड भएकाले छिन्टापुको शीरबाट बग्ने खोलाहरुको ठाउँठाउँमा साना ठुला झरनाहरु थुप्रै भेटिन्छन् ।

सन्दकपुर गाउँपालिकाको कृषि पछि दास्रो आम्दानीको श्रोत पर्यटनलाई छनौट गरेको गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माण गरेकाले जनसमुदायको सुझाव संकलन गरि प्रभावकारी कार्यान्वयनको काम गरिने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । ‘सुन्दर छिन्टापुको कसी लगाउनु पर्दैन,’ अध्यक्ष गुरुङ्ग भन्नुहुन्छ, ‘गाउँपालिकाले पर्यटनलाई आम्दानीको श्रोत बनाउन लक्ष्यका साथ अघि बढेकाले हाम्रो लगानी अब पर्यटन क्षेत्रमा बढी हुन्छ र छिन्टापुसँगै थुप्रै पर्यटकीयस्थलको हामी एकसाथ प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्नेछौँ । कृषिसँगै पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरि ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ गाउँपालिकाले छिन्टापुको विकासमा काम गर्ने पालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताउनुभयो । ‘कृषि क्षेत्रको सुधार गरि कृषि उपजलाई पर्यटन क्षेत्रमा जोडेर अर्थतन्त्रको सुधार गर्ने योजना साथ हामी काम गर्नेछौँ,’ उपाध्यक्ष लुङ्गेलीले भन्नुभयो, ‘सन्दकपुरको कृषि उत्पादन स्वाद र यहाँको प्राकृतिक सुन्दरतामा रमाउन हामी धेरै भन्दा धेरै पर्यटक छिन्टापु पुर्‍याउने गरि काम गर्छौं ।

लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छ छिन्टापु । छिन्टापुमा नेपाली वन्यजन्तु विज्ञले बङ्गाली टाइगर (पाटेबाघ) पनि भेट्टाएका थिए । छिन्टापुमा भारतको कलकत्ताबाट पर्यटकहरु आउने भएकाले २ वर्ष भित्रमा आवश्यक पूर्वाधार निर्माण गरि प्रचारप्रसारको काम गर्ने सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।

पर्यटकीय पूर्वाधार निर्माणमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाले पनि पहल गरिरहेको छ । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्ग सडकको डिपिआर गर्ने काम सकिएको छ । इलामका सबैभन्दा धेरै सीमसार र पोखरीहरु रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोटहरु रहेका छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गुराँसका फूलहरुमा घण्टौँसम्म रम्ने भएकाले यहाँ पुग्नेले गुराँसको राजधानीको परिचय दिँदै आएका छन् । यहाँबाट सूर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने छिन्टापु
सन्दकपूर गाउँपालिका २ मा अवस्थित छिन्टापु इलामको दोस्रो अग्लो पहाड हो । यहाँ पुग्नका लागि संघीय राजधानी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा भद्रपुरसम्म हवाई यात्रा गर्न सकिन्छ । भद्रपूरबाट पूर्वपश्चिम राजमार्ग चारआलीसम्म ११ किलोमिटर यात्रा गर्नुपर्छ । काठमाडौँबाट सडक यात्राबाट झापाको चारआली पुगिन्छ । काठमाडौँबाट चारआलीसम्मको यात्रा १० घण्टासम्म लाग्छ । चारआलीबाट हामी मेचीराजमार्ग समाएर इलामको सदरमुकाम इलाम बजार पुग्छौ । चारआली–इलाम सदरमुकामसम्मको यात्रा ३ घण्टाको हुन्छ । इलाम बजारमा बासबस्नका लागि सुविधासम्पन्न होटलहरु छन् ।

इलाम बजारबाट मेचीराजमार्गको बिब्ल्याँटे बजारबाट हामी सन्दकपुर गाउँपालिका तर्फ लम्कनुपर्छ । इलाम बजार बिब्ल्याँटे माइपोखरीसम्मको यात्रा १८ किलोमिटर हुन्छ । माइपोखरी पूर्वी पहाडको पहिलो रामसार क्षेत्र हो । रामसारबाट हामीले पदमार्ग समाएर ६ घण्टाको यात्रा गरेपछि छिन्टापु पुगिन्छ । छिन्टापुको यात्रा काठमाडौँबाट शुरु भए ४ दिनको हुन्छ । प्रदेश १ बाट भए ३ दिनमा छिन्टापु पुगेर इलाम सदरमुकामसम्म हामी फर्किन सक्छौँ ।

माइपोखरीबाट निर्माण भएको पदमार्गको क्रममा पर्यटकहरुले डम्बरसिंह सुनुवार बहुसास्कृतिक संग्रहालय, सातखाल्डे सहिद पार्क हूँदै टप्पु पुगिन्छ । सातखाल्डे सहिद पार्क र टप्पुको बिचमा माइपोखरी हर्बल एण्ड एग्रिकल्चर प्रालिबाट संचालनमा आएको फार्मको अध्ययन गर्न सकिन्छ । कृषि क्षेत्रमा लाग्ने युवायुवतीको यो अध्ययन र अनुसन्धानको थलो बनेको छ ।

टप्पुबाट हामी हिले भञ्ज्याङ, छोक्रे भञ्ज्याङ, खप्परे, गुराँसे भञ्ज्याङ, ढुङ्गेपानीहुँदै छिन्टापु पुगिन्छ । छिन्टापु क्षेत्रमा होमडाँडा र मन्दिर डाँडा गरि दुई अग्ला डाँडाहरु रहेका छन् ।

साथमा के बोक्ने ?
छिन्टापु यात्राका क्रममा हामीले केही आवश्यक सामग्री बोक्नुपर्ने हुन्छ । छिन्टापु जोड्ने सडक र पदमार्ग निर्माण भएपनि खान र बस्नका लागि डाँडामा सुविधा छैन । त्यहि भएर डाँडामै बस्ने योजना भए पर्यटकहरुले साथमा खाने र बस्न आवश्यक सामग्री सँगै लानुपर्छ । चिसो बढी हुने भएकाले न्यानो लुगाहरु पनि बोक्नुपर्ने र लगाउनुपर्छ । छिन्टापुको डाँडामै नबस्ने हो भने साथमा ड्राइ फुडहरु मात्रै बोक्दा हुन्छ ।

पर्यटकहरु छिन्टापु मुनिका गाउँमा खान र बस्नको लागि होमस्टेहरु संचालनमा आएका छन् । व्यवस्थित होटलहरु निर्माण नभए पनि ग्रामीण बस्तीहरुमा होमस्टे संचालनमा आएका हुन् । छिन्टापु मुनिकै सानो बस्ति गोरुवाले क्षेत्रमा ५ वटा बढी होमस्टे संचालनमा आएका छन् ।

छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा स्थानीय जातका कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कारमा रमाउन सकिन्छ । छिन्टापुको यात्रामा जाँदा माईमझुवाको बुधबारे, कमेरे, मितेरे चोक र फेमेगुरु, आलुबारी क्षेत्रमा होमस्टे सञ्चालनमा छन् ।

default

गाडीको यात्राका लागि
छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । पुर्व–पश्चिम राजमार्गको झापाको चारआलीबाट मेचीराजमार्ग समातेर ७५ किलोमिटर यात्रा गरेपछि इलाम सदरमुकाम पुगिन्छ ।

इलाम सदरमुकाममा बास बस्नका लागि व्यवस्थित होटल र लज छन् । इलाम बजारबाट चार किलोमिटरको यात्रामा बिब्ल्याँटे बजार पुगिन्छ । बिब्ल्याँटे बजारबाट अलिक अगाडि बढेपछि मेचीराजमार्ग छोडेर उत्तरतर्फ लाग्नुपर्छ ।
बिब्ल्याँटे बजारबाट १२ किलोमिटर यात्रा गरेपछि रामसार क्षेत्र माईपोखरी पुगिन्छ । माईपोखरी सन् २००८ मा रामसार सूचीमा सूचीकृत भएको पर्यटकीय तथा धार्मिकस्थल हो ।

default

माईपोखरीको भ्रमणपछि नजिकै सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली हुँदै आठ किलोमिटर यात्रापछि माईमझुवाको बुधबारे बजार पुगिन्छ । त्यहाँबाट झण्डै सात किलोमिटर कच्ची सडक यात्रापछि गोरुवाले बजार पुगिन्छ । गाडीको यात्रा गोरुवालेबाट ३ किलोमिटर टाढा रहेको देउरालीसम्म हुन्छ । गाडीको यात्रापछि प्राकृतिक टावरमा रहेको छिन्टापु पुग्न झण्डै डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

छिन्टापुमा अभाव
प्राकृतिक सुन्दरताबाटै रमाउन सकिने छिन्टापु डाँडामा खाने, बस्ने, विद्युत र खानेपानी अभाव छ । छिन्टापु डाँडामा बस्ने व्यवस्था नहुँदा पर्यटकहरुले अहिले ग्रामीण बस्तिमा बस्ने गरेका छन् । छिन्टापु मुनीका बस्तिमा बसेर पर्यटकहरु राती नै सूर्योदयको दृश्यावलोकनका लागि पदयात्रा गर्नुपर्ने बाध्यता छ ।

यहाँ एउटा सानो अथिति गृह तत्कालिन जिल्ला विकास समितिबाट बनाइए पनि संचालनमा आउन सकेको छैन । अलपत्र अवस्थामा रहेको अथिति गृह संचालनमा आए डाँडामै बास बस्न सकिनेछ । कच्ची सडक र पदमार्गबाट छिन्टापु जोडिएकै छ । छिन्टापुमा खानेपानी र विद्युत सुविधाको अभाव रहेको छ । खोलाका मुहान र धेरै सिमसार रहेपनि डाँडामा पानीकै अभाव छ । जसका कारण पर्यटकले डाँडाबाट झरेर पोखरीको पानी बोकेर खानुपर्ने बाध्यता रहेको हो ।

default

यहाँ विद्युत सुविधा पनि पुग्न सकेको छैन । तर पाँचथरतिरबाट विद्युत विस्तारको काम भने हुँदै आएको छ । खान बस्ने पूर्वाधार स्थानीय सरकार र पर्यटनव्यवसायीको पहलमा निर्माण गर्नुपर्ने कृषि पर्यटन क्षेत्रमा काम गर्दै आएका देउकुमार राईले बताउनुभये । छिन्टापुमा सोलारबाट पम्पिङ प्रणालीको माध्यमबाट खानेपानी योजना संचालन गर्नुपर्ने राईको भनाइ छ ।

३० देश घुमे छिन्टापुको सुन्दरता पाइनँ : देउकुमार राई
ब्रिटिस लाहुरेबाट कृषक बनेका देउकुमार राई सन्दकपुर गाउँपालिका भित्र कृषि पर्यटन प्रद्र्धनमा सक्रिय व्यक्ति हुन् । सन्दकपुर गाउँपालिका –३ माइपातालमा माइपोखरी हर्बल अर्गानिक एग्रीकल्चर फार्म सञ्चालन गर्दै आउनुभएका राई वर्षमा ३÷४ पटक छिन्टापु पुग्नुहुन्छ । राईको फार्म छिन्टापुको काखमै रहेको छ । ‘त्यहि काख बस्दा देखिएको अग्लो पहाड पुग्ने रहर लाग्यो,’ उहाँ भन्नुहुन्छ, ‘धेरै देश घुमेको मान्छे मलाई छिन्टापु पुग्ने जाँगर चल्यो । पहिलो पटक पदैल यात्रा गरेर छिन्टापु डाँडा पुर्दा स्वर्ग झै पुगेको अनुभव भयो ।’

राई पहिलो पटक २०६८ सालमा छिन्टापु जानुभएको थियो ।

२०४४ सालमा ब्रिटिस लाहुरे बन्नुभएका राई १८ वर्ष सेवा गरेर अवकाशपछि २०६८ सालमा माइपतालमा जग्गा खरिद गरेका थिए । ‘कर्तव्य पालनाको क्रममा युरोप, अफ्रिका र एशियाका थुप्रै मुलुकमा पुगेको छु,’ राई भन्नुहुन्छ, ‘नेपाल विश्वकै सुन्दर र उत्कृष्ट देश हो, त्यसमा पनि छिन्टापु पुग्दा मलाई स्वर्ग झै पुगेको अनुभव भयो ।’ विश्वका ३० देश घुमेका राईले अहिले आफ्नो जन्मभूमि फर्केर कृषि पेशामा होमिएका छन् ।

default

सन्दकपुर गाउँपालिका –३, माइपातालमा माइपोखरी हर्बल अर्गानिक एग्रीकल्चर फार्ममा उहाँ अहिले देश र विदेशका कृषि क्षेत्रका अध्ययन अनुसन्धानकर्मीको सिप सिक्ने थलो भएको छ । उहाँ यहाँ आउने देश विदेशका विद्यार्थीहरुलाई छिन्टापु पहाड पुर्‍याएर प्रचारप्रसारमा सक्रिय रहनुभएको छ । उहाँले सञ्चालनमा रहेको फार्मसँगै होमस्टे समेत रहेको छ । फार्ममा उत्पादन भएको अर्गानिक उत्पादन खाँदै बास बस्ने पर्यटकलाई आफै गाइड भएर छिन्टापुको पहाडमा पुर्‍याउँदै आउनुभएको छ ।

सूर्योदय, सूर्यास्त, दर्जनौ हिमाल, लोपउन्मुख वन्यजन्तुको दृश्यमा छिन्टापुको पहाडबाट देखिने भएकाले यो धर्तिको स्वर्ग नै हो,’ राईले भन्नुभयो, ‘अरु देशमा हजारौँ डरल खर्च गरेर मात्रै हेर्न र देश्न पाइन्छ, हाम्रो देशमा धेरै खर्च गर्नुपर्दैन । अरु देशमा झरना, हिमाल, सूर्योदय र वन्यजन्तुको हेर्न फरक÷फरक स्थान जानुपर्ने हुन्छ यहाँ त एकै ठाउँबाट देख्न पाइन्छ ।’

छिन्टापु घुम्न चाहने पर्यटकले बाठमाडौँबाट यहाँ पुग्दा १५/२० हजार खर्च गरे पुग्छ, समूहमा बनाएर यात्रा गरे झनै सस्तो हुने उहाँको सुझाव छ । भारतको सिंहलिला राष्ट्रिय निकुञ्जसँग जोडिएको छिन्टापुको जंगलमा २ वर्ष अघि बंगाली टाइगर पनि पाइएको थियो । यहाँ लोपउन्मुख वन्यजन्तु रेडपाण्डा पनि पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.