कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा
काठमाडौं- काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताउनुभएको छ ।
आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उहाँले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताउनुभएको हो ।
“अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।” आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरुवात काठमाडौँ क्षेत्र नं ४ बाट हुने उहाँको भनाइ छ ।
काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा १ मा निर्वाचित प्रदेशसभा सदस्य श्रीराम लामिछानेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षभित्र पूरा गर्ने जिकिर गर्नुभयो । काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ का पार्टी सभापति रामप्रसाद लुइँटेलले चुनावी घोषणापत्रलाई पाँच वर्षसम्म ध्यान दिएर जनतासँग गरेका बाचा पूरा गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्