उपचार खर्च अभावमा श्रीमान्-श्रीमति नै बन्धक

मोरङ- उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्-श्रीमती बन्धक भएका छन् ।

यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका-६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन ।

कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिर्इ घर फर्किन नदिँदा सदा दम्पती अस्पतालमा रोकिएको हो । शिवचन्द्रका भाइ पवनले प्रदेश नं २ का मुख्यमन्त्री, मानव अधिकार आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई न्याय तथा उपचार खर्चका लागि गुहार्नुभएको छ । दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताउनुभयो ।

वर्षाको समयमा दीना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि आफूहरुले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले बताउनुभयो ।

कुटपिटबाट घाइते सदा दम्पती उपचारका लागि शुरुमा स्थानीय क्लिनिक पुग्यो । स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उहाँहरु थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना हुनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि गत साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्राानुसार साह रिहा हुनुभयो ।

उपचार खर्च आरोपितले व्योहोर्ने आशामा बसेका भूमिहीन र गरिब सदा दम्पतीले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उहाँहरुलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताउनुभयो । प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.