रेसुङ्गा विमानस्थल निर्माणमा ढिलासुस्ती

१५ बर्षमा ३० प्रतिशत मात्र काम

गुल्मी- गुल्मीमा निर्माणाधिन रेसुङ्गा विमानस्थलको काम अत्यन्तै ढिला भएको छ ।

रेसुङ्गा नगरपालिका -१० सिमिचौर थालेमालेमा २०६३ सालबाट निर्माण गर्न थालेपनि अहिलेसम्म यो विमानस्थलको करिव ३० प्रतिशत मात्रै काम भएको छ ।

एक दशकभन्दा पहिलेदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलमा परिक्षण उडान सम्पन्न भएको २ वर्ष पुरा हुँदा पनि निर्माणको धेरै काम बाँकी छ ।

२०७५ साल जेठ २७ गते धुले उडान मार्फत परिक्षण गरिएको विमानस्थल नियमित सञ्चालनको लागि धावनमार्ग कालोपत्रे, टर्मिनल भवन निर्माण तथा टावर र तारजालीको काम गर्न बाँकी छ ।

यी सबै काम पुरा गर्न करिब २१ करोडको लागतमा तीनवटा निर्माण कम्पनीले काम गरिरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष पदम अर्यालले जाकारी दिए ।

विमानस्थल सम्पन्न गर्ने गरी धावनमार्ग कालोपत्रे गर्न १४ करोड, टर्मिनल भवन, टावर निर्माण गर्न ६ करोड र तारजाली लगायत फिनिसिङ्गको काम गर्न डेढ करोडको बजेटमा काम भइरहेको छ ।

निर्माण व्यवसायीले समयमै काम गर्न सके यसै आर्थिक बर्षमा ३ वटै काम पुरा हुने वडाअध्यक्ष अर्यालले बताए ।

विमानस्थलको धावनमार्ग गएको असारसम्म पुरा गरिसक्नपर्ने थियो । तर बिश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण कालोपत्रे गर्ने सामाग्री लगायत बिभिन्न कारणले हुन नसकेको निर्माणकर्ता बताउँछन ।

विमानस्थलको धावन मार्गको कालोपत्रे गर्ने काम आउदो बैशाखसम्म पुरा हुने र अन्य भवन निर्माण र तारजाली लगाउने काम मंसिरसम्म पुरा हुने आयोजना प्रमुखको भनाइ छ ।

यो विमानस्थलमा ५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहने छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ घरधुरी तथा जग्गा धनीलाई मुआब्जा दिएर अन्य ठाउँमा पहिले नै सारिएको छ ।

विमानस्थल करिव ७९ रोपनी क्षेत्रफलमा फैलेको छ । कुल क्षेत्रफलमध्ये करिब ५६ रोपनी जग्गा चाँहि सार्वजनिक जग्गा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.