६ वर्षपछि फेरि एक हुँदै दाहाल–भट्टराई

काठमाडौं– माओवादी सशस्त्र विद्रोहदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एक अर्काका पूरक हुनुहुन्थ्यो ।

२०५२ सालमा माओवादी विद्रोह सँगै मिलेर सुरु गरेका दुई नेता २० वर्षपछि २०७२ सालमा अलग हुनुभयो ।

भट्टराईले २०७२ साल असोज ३ गते संविधान जारी भएको ६ दिनपछि माओवादी पार्टी त्याग गरेको घोषणा गर्नुभएको थियो । ‘अब परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको’ निष्कर्षसहित नयाँ बानेश्वरको एक होटलबाट भट्टराईले देशलाई समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टी घोषणा गर्नुभएको थियो ।

भट्टराईले एक साप्ताहिक पत्रिकामा नयाँ शक्तिको आवश्यकतासम्बन्धी उदघोष त्यसअघि नै गर्नुभएको थियो ।

खुला राजनीतिमा आएपछि झण्डै टुटफुटबाट गुज्रिएको माओवादी केन्द्रमा डा. भट्टराईको पुनरागमन हुने भएको छ ।

नयाँ शक्ति, जनता समाजवादी, नेपाल समाजवादी पार्टी हुँदै ६ वर्षपछि दुवै नेता पुनः एक हुने तय भएको छ । २०७३ जेठ ३० गते दशरथ रंगशालामा सभा गरेर नयाँ शक्ति पार्टीको घोषणा गरेरेर अलग बाटो लिनुभएको थियो ।

छिट्टै पार्टी एकीकरण हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको छ ।

बैठकमा सहभागी नेसपाका नेता गंगा श्रेष्ठका अनुसार शनिबार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने कार्यक्रम छ । आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकले प्रस्ताव पारित गरेसँगै एकता मिति तय गरिनेछ ।

पार्टी एक गर्ने तयारीसाथ गएको चुनावमा नेसपा माओवादी केन्द्रको चुनाव चिन्हमा नै निर्वाचनमा गएको थियो । भट्टराईले आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न दाहाललाई बाटो खोलिदिनुभएको थियो ।

दुवै नेताबीच समाजवादी धारका सबै दलसँग पार्टी एकताका विषयमा छलफल गरेर जाने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.