पाल्पामा भएको बस दुर्घटना चालकले मदिरा सेवन गरेर भएको पुष्टि

पाल्पा- पाल्पामा गत बिहीबार छ जना यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबर्जस्ती बस चलाउँदा दुर्घटना भएको पुष्टि भएको हो ।

बिहीबार राति १० बजेतिर रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सत्यवतीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनदेवी छहरा–८, खुर्सानेमा दुर्घटना भएको थियो । दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि सिङ्गो खुर्साने गाउँ शोकमा डुबेको छ । दुर्घटनामा परेको बसको चालकले मदिरा (रक्सी) सेवन गरेर बस गुडाएको घाइते यात्रुको भनाइ छ ।

चालक तथा सवारी धनीले मादक पदार्थ सेवन गरेर झगडा समेत गरेको घाइते यात्रुले बताएका छन् । उक्त सडक खण्डको टारीमा डेढ घण्टा बस रोकेर मादक पदार्थ सेवन गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि पनि चालकले ढिकमा बस चढाएपछि यात्रुले बस रोक्न अनुरोध गरेका थिए । तर चालकले जबरजस्ती गरेर बस गुडाएको केही समयमै बस दुर्घटनामा परेको घाइते लीला गाहाले बताउनुभयो ।

दुर्घटनाको विषयमा चालकले भने स्टेरिङमा आएको गडबडीका कारण दुर्घटना भएको प्रहरीलाई बताउने गरेका छन् । मदिरा सेवन गरेर बस हाँक्ने चालक घाइते अवस्थामा उपचाररत् छन् ।

बस दुर्घटनाको कारणबारे रैनदेवी छहरा–८ का वडा अध्यक्ष रेमबहादुर रानाले चालकले मादक पदार्थ सेवन गरेको बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालकको स्वास्थ्य परीक्षणबाट मदिरा सेवन गरेको पुष्टि भएको जनाएको छ ।

बसका चालकले मदिरा सेवन गरेर सवारीसाधन चलाएको जानकारी प्राप्त भएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.