५० अर्बको आर्थिक पुनरुत्थान कोष निर्माण अन्तिम चरणमाः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले ५० अर्बको आर्थिक पुनरुत्थान कोष निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । कोरोना अतिप्रभावित घरेलु, साना तथा मझौला उद्यम र पर्यटन व्यवसायलाई लक्षित गर्दै कोष खडा गरिएको अर्थमन्त्रीको भनाइ छ ।
नेपाल टेलिभिजनको कार्यक्रम ‘समसामयिक वार्ता’का लागि प्रदीप चापागाईंसँग कुरा गर्दै अर्थमन्त्री डा. खतिवडाले कोष निर्माणका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुयो । चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख भएको आर्थिक पुनरुत्थान कोषलाई मौद्रिक नीतिमासमेत समावेश छ ।
अर्थमन्त्री खतिवडाले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चारलगायतका सरकारी कम्पनीबाट ब्याजमा रकम लिएर कोष खडा गर्ने जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा भएको बजेट कार्यान्वयनले नेपालमा वित्तीय संघीयता कार्यान्वयन सफल हुँदै गएको अर्थमन्त्रीको भनाइ छ ।
भदौभित्र कोरोना भाइरस संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सके आर्थिक सन्तुलन कायम गर्न सम्भव हुने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । ‘त्यसो हुन सकेन भनेमात्रै बजेटले लिएको लक्ष्य पुनरावलोकन गर्नुपर्ने हुन सक्छ,’ उहाँले भन्नुभयो ।
पुनर्कर्जा कार्यक्रम कार्यान्वयन सुरु भएको बताउँदै अर्थमन्त्रीले उद्योगी, व्यवसायीको मनोबल गिर्न नदिन सरकारले हरसम्म प्रयास र राहतका कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
अर्थमन्त्री खतिवडाले प्राविधिक कारणले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र महामारीका कारण बिआरई रोकिए पनि अब अगाडि बढ्ने संकेत गर्नुभयो । एमसीसी संशोधनसहित अगाडि बढाउन सत्तारुढ नेकपाको कार्यदललेसमेत सुझाव दिएकाले अब प्रक्रियामा प्रवेश गर्ने उहाँको भनाइ थियो ।
कोभिडका कारण आधारभूत आपूर्तिमा अवरोध नआओस भन्नेमा सरकार सचेत रहेको भन्दै मन्त्री खतिवडाले औधोगिक र पर्यटकीय गतिविधि अगाडि बढाउन भने केहि समय लाग्ने बताउनु भयो। अर्थमन्त्री एवं संञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडासँग गरिएको कुराकानी समसामयिक वार्ता कार्यक्रम नेपाल टेलिभिजनको समाचार च्यानल (एनटीभी न्यूज) मा आज राति सवा नौ बजे र नेपाल टेलिभिजनमा आज राति ९:३० बजे प्रसारण हुने छ।






प्रतिक्रिया राख्नुहोस्