राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, आजै साँझ अन्तिम नामावली प्रकाशन गरिने
काठमाडौं – राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ ।
राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारहरुविरुद्ध कुनै उजुरी र दावी विरोध पनि परेको छैन ।
उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्