आठ राजनीतिक दलका वागमती प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण आज

काठमाडौं- आठ राजनीतिक दलका वागमती प्रदेशसभा सदस्यहरुको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम आज आयोजना गरिंदैछ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित आठ दलीय ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ को निर्णयानुसार आज सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
राष्ट्रपतिका लागि ८ दलका तर्फबाट साझा उम्मेदवार बनेका कंग्रेस नेता रामचन्द्र पौडेललाई जिताउन सातै प्रदेशका प्रदेश सभा सदस्यहरुका लागि यसप्रकारको अभिमुखीकरण आयोजना गरिदैंछ ।
आठ राजनीतिक दलका संघीय सांसदहरूका लागि हिजो काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रपतिको निर्वाचनअघि केही धरमराएको अनुभूति गरिएको नेपाली सहमतिको राजनीतिको शृङ्खला यो निर्वाचनपछि पुनः निरन्तर अघि बढ्ने विश्वास आठ दलहरुले व्यक्त गरेका छन् ।
राष्ट्रपतिका लागि ८ दलका तर्फबाट साझा उम्मेदवार छानेका दलहरुले त्यसैमा साझा सहमति बनाउदै अघि बढ्न अन्य दलहरुलाई पनि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत दलका नेताहरुले एमाले सहितका दलहरुलाई आफ्नो उम्मेदवारलाई सघाएर सहमतीय राजनीतिको नयाँ अध्याय सुरु गर्न आग्रह गरेका छन् । मुलुकको सर्बोच्च पद राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ ।






प्रतिक्रिया राख्नुहोस्