वातावरणको क्षेत्रमा तिलोत्तमामा पाँच महत्वपूर्ण घोषणा

रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियान; १००औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।
नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभयो । घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खाणको भनाइ छ ।
फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरुलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गर्नुभयो ।
सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पार्नुभयो ।
यस्तै प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उहाँले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिनुभयो ।
बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताउनुभयो । उहाँले सबै कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताउनुभयो ।

तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता, उपप्रमुख जागेश्वरी चौधरीको स्वागत र कार्यपालिका सदस्य सुरेन्द्र श्रीको सञ्चालमा भएको मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिंचाई प्रणाली, वन, टोल विकास संस्था, व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुलगायतका सयौं नगरबासीको सहभागिता रहेको थियो ।
सो अवसरमा हरियाली प्रवर्द्धन तथा नगर सरसफाई अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्व नगरप्रमुख बासुदेव घिमिरे र विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्