विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार होः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काभ्रे- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार बनाएर आगडी बढ्ने बताउनुभएको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ योगरमा स्थानीयस्तरबाट सहयोग संकलन गरी निर्माण गरेको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाको उद्घाटन गर्नुहुँदै उहाँले जनताको आकांक्षा अनुसारको काम गर्न आफुहरु दृढ भएर लागिरहेको बताउनुभयो ।

अहिलेसम्म भएको विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षा अनुसार पूरा गर्न नसकेको बताउँदै उहाँले सरकारले एउटैमात्र उद्धेश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने गरी नयाँ ढाँचामा सामाजिक न्यायसहितको समृद्धि र समाजवाद उन्मुख समृद्धितर्फ उन्मुख गराउने काम गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले त्यहाँका जनताले राखेको माग विपि राजमार्गको माम्दी पुलदेखि तेमाल गाउँपालिकाको मेच्छेपौवास्थित म्हानेगाङसम्मको मोटरबाटोको जिम्मा सरकारको तर्फबाट आफुले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अहिले प्राप्त गरेको राजनीतिक उपलब्धीलाई कुनै पनि कोणबाट गुम्न नदिई अझ बलियो बनाउने काममा सबै लाग्न आग्रह गर्दै प्राप्त उपलब्धीलाई कमजोर पार्न खोज्ने प्रबृत्तिलाई असंवैधानिक कृयाकलाप गर्न नदिन खबरदारी गरिरहन आवश्यक रहेको बताउनुभयो ।

सो क्रममा बोल्दै मन्त्री श्रेष्ठले पद रवाफ देखाउने, शक्ति प्रयोग गर्ने र सुविधा आर्जन गर्ने नभई जिम्मेवारी पूरा गर्ने ठाउँ भएकाले त्यसलाई आम राजनीतिक पार्टी, समाज र जनप्रतिनिधिहरुको सहयोग र सहकार्यमा काम गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले जनताको अपेक्षा रहेको शिक्षा, स्वास्थ्य, बाटो कृषि र रोजगारलाई अभियानकै रुपमा अगाडी बढाउने काममा आफु प्रतिबद्ध रहेको बताउनुभयो । सो क्रममा उहाँले निर्माण भएको गुम्बाको संरक्षण गर्ने जिम्मा समाजको रहेकाले त्यसमा सबैले ध्यान दिन आग्रह गर्नुभयो ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जागत दोङले गुम्बा बनाउनु बनेको कर्मकाण्डीको रुपमा रहेर नभई समाजसंग जोड्दै बुद्धका शिक्षालाई अगाडी बढाउनुपर्छ भन्ने मान्यताका साथ निर्माण गरेको बताउनुभयो । गुम्बामा परम्परागत ज्ञानमा आधारित उपचार पद्धतीलाई सोही गुम्बाबाट शुरु गर्ने योजनामा समेत रहेको व्यवस्थापन समितिले जनाएको छ ।

गुरु पद्म सम्भवको तपोभूमि, धार्मिक, ऐतिहासिक एवं तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा स्थानीयबासिन्दाको सक्रियतामा आम सहयोगीदाताहरुको आर्थिक सहयोगबाट निर्माण भएको गुम्बाको लामा गुरु क्याब्जे श्याल्पा तेञ्जिन रेन्पोछेबाट ह्राप्ने पूजा गरी गुम्बाको उद्घाटन भएको हो ।

सो क्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दोङले गाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसंगै पक्कि मोटरबाटो गाउँको विकासको मुख्य आवश्यक रहेको भन्दै माम्दीदेखि पौवाको म्हानेगाङसम्म बाटो निर्माण गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष दोङको बुबा आमाको नाममा रहेको दूई रोपनी १५ आना जग्गा गुम्बाको नाममा दान गरेपछि आवश्यक रकम जुटाएर गुम्बा निर्माणको काम शुरु भएर सम्पन्न गरेको उपभोक्ता समितिले जनाएको छ । २७ महिना लगाएर गुम्बाको निर्माण कार्य सम्पन्न पश्चात उद्घाटन भएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

सो ठाउँमा निर्माण भएको गुम्बामा बुद्धको ईतिहास लेख्ने, गुरु रेन्पोछे(गुरु पद्म सम्भव)को ईतिहास लेख्ने, तामाङ राजा ह्रिञ्जेन दोर्जेको ईतिहास लेख्ने काम गर्ने योजना रहेको छ । जसबाट बाह्य तथा आन्तरिक पर्यटन आकर्षण गर्न धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनमा गुम्बाले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयबो भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.