काभ्रेको विकट महाभारतमा स्वास्थ्य शिविर

काभ्रे- काभ्रेको विकट महाभारत गाउँपालिका–५ किल्लामा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट पाँच सय बढीले सेवा लिएका छन् । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय काभ्रे तथा महाभारत गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

दुई दिनसम्म सञ्चालित स्वास्थ्य शिविरमा स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सेवा, दन्त रोग सम्बन्धी सेवा, मानसिक स्वास्थ्य सेवा, जनरल मेडिसिन सेवा, अपांगता चेकजाँच सेवा उपलब्ध गरेको थियो । यस्तै पोषण प्रवर्द्धन सेवा, सम्भावित क्षयरोगी स्क्रिनिङग सेवा, गर्भवती महिलाहरुको भिडियो एक्स–रे सेवा र प्रयोगशाला सेवा पनि शिविरमा उपलब्ध रहेको थियो ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुविधाका लागि शिविर आयोजना गरेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दुर्गम ग्रामिण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीलाई लक्षित गरी निशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

शिविरमा निःशुल्क औषधी वितरण गरिनुका साथै जिटिल रोगका बिरामीलाई थप उपचारका लागि माथिल्लो निकायमा लगिने महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्ताने जानकारी दिनु भयो ।

उक्त स्वास्थ्य शिविरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले उपचार अभावमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताउनुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पैसाको अभावमा रोग पालेर बसेका दुर्गमका सर्वसाधारणहरुलाई शिविरबाट ठूलो राहत महशुस गर्ने बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाईले स्वास्थ्य परीक्षण, परामर्श र निशुल्क रुपमा औषधिसमेत वितरण गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर शुभारम्भ कार्यक्रममा जिल्ला स्थित चारवटै सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.