चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ÷संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिनुभएको हो ।

“हिजो चलचित्रको सङ्ख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको सङ्ख्या बढाउनु महत्त्वपूर्ण नै हुन्थ्यो”, उहाँले भन्नुुभयो, “तर अब छायाङ्कनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।”

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उहाँले यसमा आवश्यक कानून र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायका रूपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उहाँले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपाय केन्द्रीकृत गर्न आग्रह गर्नुभयो ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्यामश्वेत चलचित्र चलाउने कानूनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताउनुुभयो ।

अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उहाँले जतिसक्यो चाँडो मन्त्रालयबाट टुङ्ग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक र सामाजिक परिवर्तनको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुुभयो ।

“चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो”, मन्त्री शर्माले भन्नुभयो, “त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तुु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ ।”

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नसके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ÷सङ्स्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.