मकैको बीउ उत्पादनमा गुल्मी आत्मनिर्भर

गुल्मी- यतिबेला पहाडी क्षेत्रफलमा मकै छर्ने चटारो सुरु भएको छ । गुल्मी जिल्ला मकैको बीउ उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको लागि उन्नत बीउ आवश्यकता पाँच सय ५० मेट्रिक टन छ । हाल जिल्लामा ६ सय ४० मेट्रिक टन बीउ उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
जिल्लामा २४६ हेक्टर क्षेत्रफलमा मकैको बीउ उत्पादन हुने गरेको छ । मकैको बीउ उत्पादनका हिसाबले आत्मनिर्भर भएपनि बीउको लागि संचय गर्ने बानी हटेकाले छर्ने बेलामा बीउको अभाव देखिने गरेको भण्डारीले बताउनुभयो ।
यस जिल्लामा उन्नत बीउ १३ टन निर्यात हुने गरेको छ । त्यस्तै ८ टन उन्नत बीउ आयत हुने गर्दछ । हाईब्रिड मकै ५५ टन आयत हुन्छ । जिल्लामा बीउ उत्पादनमा १७ वटा संस्था आवद्ध छन् ।
यी संस्थाले समुहमा मकैको बीउ उत्पादन गर्ने गरेका छन् । गुल्मीको सबैमन्दा बढि क्षेत्रफलमा मकै लगाउने भनेकै वर्षाको समय हो ।
मनकामना ३, रामपुर कम्पोजिट, मनकामना १, देउती जातका मकै लगाउने गरिन्छ । त्यस्तै हाईब्रिड जातमाः सिपी ८०८, सिपी ६६६, राजकुमार, जि.के.३१४०, जि.के. ३११४, जे.के एम. एच ५०२, सुवर्ण जातका मकै कृषकले लगाउने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
जिल्लामा २४ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा कमै खेती हुँदै आएको छ । त्यसमध्ये उन्नत मकै २१ हजार ७ सय १५ हेक्टर क्षेत्रफल र २ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा हाईब्रिड मकै खेती हुने गरेको छ ।
कुल मकै हुने क्षेत्रफलको ११ दशमलव २३ प्रतिशत जग्गामा हाईब्रिड कमै लगाईन्छ । जिल्लामा उन्नत मकै ६४ हजार ३ सय ४६ टन र हाईब्रिड मकै १२ हजार ८ सय ४० टन उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्