विदेशबाटै मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्रीले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताउनुभयो । आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै प्रधानमन्त्री दाहालले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पुरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री बनेपछि निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्