पत्रकारहरु पुरस्कृत
काठमाडौं- पत्रकार पुरस्कृत सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरेको छ ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित हुनुभएको हो । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्य छ जना पत्रकारसमेत सम्मानित हुनुभएको छ ।
सम्मानित हुनेमा पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्य हुनुहुन्छ । मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएको भन्दै उहाँहरुलाई सम्मान गरेको हो ।
पुस्कृत पत्रकार राजेन्द्र दाहालले आमसञ्चार तथा पत्रकारितासम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्थाको स्थापना गर्न सरकारको ध्यानआर्कषण गराउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको संरक्षण र सफलताका लागि राम्रो पत्रकारिता जरुरी छ । त्यसका लागि अहिले आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने भरपर्दो संस्थाको खाँचो छ । ”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार तथा पत्रकारितामा आवश्यक लगानी र नीति बनाउनतर्फ सरकारको ध्यानआर्कषण गराउनुभयो । वरिष्ठ पत्रकारबाट सम्मानित हुनेलाई कदरपत्रसहित रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृतलाई कदरपत्रसहित रु एक लाख प्रदान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्