ऐतिहासिक पनौती जात्रा सम्पन्न

काभ्रे- ऐतिहासिक पनौती नगरको प्रमुख जात्रा पनौती जात्रा सम्पन्न भएको छ । पनौती जात्रा तीन दिनसम्म मनाइने चलन छ । यस जात्रालाई पनौतीवासीले निकै महत्वकासाथ मनाउने गर्दछन् । यहाँ जात्रा भर्न टाढा टाढाबाट समेत मानिसहरु आउने गर्दछ ।

पनौती सांस्कृतिक एवम् पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यहाँका पुरातात्विक, सांस्कृतिक सम्पदाले छुट्टै महत्व बोकेको छ । यहाँका संस्कृति, धर्मसँग सम्बन्धित विभिन्न जात्रा, पर्वहरू पनि पनौती नगरको अर्को परिचय हो ।

पनौती जात्रा तीन दिन सम्म जेष्ठ त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म चल्दछ । त्रयोदशीको दिनलाई डुइचा ङायकेगु भनिन्छ । स्थानीय समुदायमा त्रयोदशीको दिनलाई कुलक्या पनि भन्ने गरिन्छ । चतुर्दशीको दिनलाई मुः जात्रा भनिन्छ । यो दिन बिहानैदेखि ब्रम्हायणीको मन्दिरमा सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

यसदिन सर्वसाधारणले आफ्नो गच्छे अनुसार श्रद्धापूर्वक ब्रम्हायणी मन्दिरमा गई पूजा गर्ने, बलि दिने गर्दछन् । तेस्रो दिन इन्द्रश्वर महादेब, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर मानिसहरू एक–आपसमा भब्य सिन्दुर जात्रा गरिन्छ । यो रथ जुधाएर गरिने जात्रालाई कसैले हिले जात्रा, कसैले घुम जात्रा, कसैले ज्यापुन्हि जात्रा भन्ने गर्दछन् ।

जेष्ठ पूर्णिमाको दिन टाढाटाढाबाट जात्रा हेर्न आउने मानिसहरूको यहाँ ठूलो भीड लाग्छ । पनौतीको लायकु डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्तभैरवका रथहरू एक–आपसमा जुधाई जात्रा गरिन्छ । सबैभन्दा पहिले पूर्णिमाको बिहान ब्रम्हायणीमन्दिरमा जोर बोकाको बलि दिइन्छ । बलि दिएपछि ब्रम्हायणी र भद्रकालीलाई मन्दिर बाहिर ल्याई उत्तरतर्फको पाटीमा राखिन्छ ।

त्यसपछि पालो पर्ने दुई जना पूजारीले आ–आफ्ना घरबाट पूजा सामग्री ल्याई पूजा गरेर हाँसको बली दिइन्छ । हाँसको बलिसहित पूजा सम्पन्न भएपछि पालो पर्ने पुजारी मध्येबाट द्वारेलाई खड्ग दिइन्छ । पनँौतीमा यो बर्षका अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन् । छिमेकी सिन्ुधुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर देखिका मानिसहरु जात्रा हेर्न आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.