४१ बर्षपछि गोरखाको पालुङटार विमानस्थल सञ्चालन गर्ने तयारी
गोरखा- गोरखाको पालुङटार विमानस्थल पुन: सञ्चालनका लागि तयारी थालिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्तिमा ट्विनअटर विमान उडान अवतरण गर्न सक्ने गरी संरचना निर्माण गर्ने भएपछि विमानस्थल सञ्चालनमा आउने सम्भावना बढेको हो ।
विमानस्थलमा धावनमार्ग र अन्य संरचना निर्माणका लागि ठेक्का सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताउनुभयो । उहाँका अनुसार संरचना निर्माण र हाल भएको हवाइ मैदान सुधारका लागि असार ३१ गते ठेक्का सम्झौता भएको छ ।
आगामी असारसम्ममा पूर्वाधार निर्माण र सुधारको काम सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग ३ करोड १७ लाख ५० हजार ४ सय ४१ रुपैयाँमा ठेक्का सम्झौता भएको अधिकारीले जानकारी दिनुभयो ।
यो वजेटबाट मैदान सम्याउने, ग्राभेल सहितको रन वे बनाउने, लगायतका काम हुने उहाँको भनाइ छ । आगामी असारसम्ममा काम सकेर साना जहाज उडाउन योग्य बनाउने गरी तयारी भइरहेको अधिकारीले बताउनुभयो ।
लामो समय प्रयोगमा नआएपछि पालुङटार हवाइ मैदान गौचरनमा परिणत भएको छ । ४१ वर्षदेखि प्रयोगमा नआउँदा पालुङटार नगरपालिका वडा नम्वर १० स्थित हवाईमैदानको जग्गा अतिक्रमण समेत हुन थालेको स्थानीयले बताएका छन् ।
२०१७ सालमा निर्माण भएर ०१८ सालदेखि उडान सेवा सुरु भएपनि अहिले भने हवाई मैदान खेलमैदान, गाईवस्तु चराउने गौचरन, निर्माण सामाग्री थुपार्ने ठाउँ बन्दै आएको छ ।
२०१७ सालतिर गोरखा, तनहुँ, लमजुङका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव हुँदा जहाज मार्फत् खाद्यान्न ढुवानी गरिएको र त्यसपछि ०३४ सालसम्म यी ३ जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाइपहरु पनि ओसारपोसार गरिएको स्थानीय सुनाउँछन ।
डेढ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई क्षेत्रफलमा ५७ वर्षअघि निर्माण गरिएको यो एयरपोर्ट पृथ्वीराजमार्गमा यातायात सेवा सञ्चालनमा आएसँगै र गोरखा, तनहुँ र लमजुङ सदरमुकाममा मोटर पुगेपछि बन्द भएको हो ।।
प्रतिक्रिया राख्नुहोस्