पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु: प्रधानमन्त्री
कास्की- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग भएको भेटमा उहाँले आँफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्चअधिकारीलाई पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ‘ब्रेक थ्रु’ नै हुनेवाला रहेको बताउनुभयो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानबारे भारतसँग पनि कुरा भएको र कोरला नाका सञ्चालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने उहाँले जानकारी दिनुभयो ।
भेटघाटमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
बजारमा भारतीय रुपैयाँको विनिमय दर घटेको बताउँदै उहाँले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो सञ्चालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलङ्का एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगङ्गा जलविद्युत् परियोजना निर्माण, प्रशारण लाइनको उचित व्यवस्थापनलगायतका माग गर्नुभयो ।
मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उहाँले उद्योगी व्यवसायीको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउने, कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि उहाँले माग गर्नुभयो ।
हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनको प्रवर्द्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उहाँले पोखरा उद्योग वाणिज्य सङ्घले कोसेली घर निर्माणको सोच बनाएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्