महानगरको फेरिँदै गएको स्वरुपः गरे के हुँदो रहेनछ र ? (फोटो फिचर)

काठमाडौं- कुनैबेला काठमाडौं भन्नेबित्तिकै मानिसहरु अव्यवस्थित र फोहोरमैलाको दुर्गन्ध फैलिरहने शहर भनेर मुख खुम्च्याउँथे । अझ चोक चोकको भीडभाड र हुलमुलले त काठमाडौँलाई भद्रगोल शहर भन्न पनि बेर मान्थेनन् मानिसहरु ।

तर अहिले काठमाडौँले विस्तारै काँचुली फेर्दैछ । खासगरी काठमाडौँ महानगरपालिकाका केही ठाउँहरु त साँच्चै बेहुली झैँ श्रृङगारिएका छन् । महानगरपालिकाका कतिपय ठाउँहरु चाहिँ श्रृङ्गार पटारमा व्यस्त देखिन्छन् ।

शहरका विभिन्न भागहरु सिँगार्ने काम चाहिँ काठमाडौं महानगरपालिकाले गरेको हो । अहिले महानगरभित्र धेरै ठाँउमा बगैँचा र खाली ठाउँमा थरिथरिका फुलहरु फुलिरहेका भेटिन्छन् । संघीय राजधानी समेत रहेको काठमाडौँ महानगर यतिबेला हरियाली तथा फुलैफूलको सहरको रूपमा विकास भइरहेको छ ।

महानगरपालिकाले गत वर्ष नगरसभाबाट उद्यान तथा हरियाली प्रबर्द्धन आयोजना गठन गरेसँगै अहिले त्यहि आयोजनाले महानगरलाई सुन्दर बनाइरहेको छ । तीन महिनाअघिबाट द्रुतगतिमा फूल तथा बिरुवा रोप्ने काम यही आयोजनाले गरिरहेको छ ।

महानगरले यो अभियान चलाएसँगै अहिले सडकका छेउ तथा बीचको भागमा ढकमक्क फूल र लहलहाउँदा बोट बिरुवा देख्न सकिन्छ । खाली जमिन नभएको वा कम भएको ठाउँमा महानगरले गमला राखेर फूलको विरुवा रोप्ने अभियान तीव्र पार्दै गएको छ । यसको रेखदेख महानगरीय प्रहरीसहित ५० जनाको टिमले गरिरहेको छ ।

अहिले कोटेश्वर, विजुली बजार, बाग बजार, खुल्ला मञ्च, रानीपोखरी, कलंकी, पुतली सडक लगायतका ठाउँमा बोटबिरुवा र फलफूल रोप्ने काम सकिएको छ । यसैगरी सडक किनारा र खोला किनारमा पनि फूल तथा बोटबिरुवा बाक्लैसँग लगाइएको आयोजना प्रमुख नवराज थापा बताउनुहुन्छ ।

महानगरको फेरिँदै गएको स्वरुपले यहाँका स्थानीय पनि कम खुशी छैनन् । गरे के हुँदो रहनेछ र ? स्थानीय भलाकुसारी गरेको भेटिन्छन् । पछिल्लो तीन महिनामा महानगरले ३० हजार विरुवा रोपिसकेको छ । भाद्रसम्म १ लाख बोट विरुवाहरु रोपिने लक्ष्य छ । यहाँ लगाइएका फुलहरु महानगरले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानबाट ल्याएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.