रकम फिर्ताका लागि शिवशिखर विरूद्ध एक हजार पाँच सय उजुरी

डडेलधुरा- शिवशिखर सहकारीका विरूद्ध एक हजार पाँच सय ४३ बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दर्ता गरेका छन् ।

सो सहकारीमा लामो समयदेखि रकम जम्मा गर्दै आएका बचतकर्ताले सहकारीले रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर सहकारीमा रकम जम्मा गरेका तर फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न सूचना जारी गरेपछि एक हजार पाँच सय ४३ जनाको ठाडो निवेदन दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

सबै निवेदकको दाबी रकमअनुसार रु ३१ करोड १६ लाख ७१ हजार तीन सय रहेको खुल्न आएको छ । पीडित बचतकर्ताहरूले रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएका हुन् तर सहकारी भने केही समयदेखि बन्द रहेको छ ।

प्रहरी नायब उपरीक्षक भट्टले सबै बचतकर्ताले प्रमाणसहित निवेदन दिएको बताउँदै निवेदन दर्ताको काम सकिएसँगै जाहेरी दर्ताको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । “पचास-पचास जनाका दरले जिल्ला प्रहरी कार्यालयमा बोलाएर हामी जाहेरी दर्ता गरिरहेका छौँ । त्यसपछि अनुसन्धान अगाडि बढ्छ”, प्रनाउ भट्टले भन्नुभयो ।

सो सहकारीले डडेल्धुरामा मात्रै रु ४१ करोडभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको खुलासा गरेको थियो । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालयसमेत बन्द गरेको छ ।

सहकारीमा लगानी वा बचत गरेमा पाँच वर्षमा दोब्बर रकम हुने भन्दै स्थानीयवासीबाट निक्षेप सङ्कलन गरिएको थियो । कतिपय बचतकर्ताले अन्यबाट कर्जा लिएर शिवशिखरमा बचत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.