मुस्ताङको कागवेनीमा बाढीको उच्च जोखिम, रातिसम्म खोला नियाल्दै स्थानीय

मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा बाढीको जोखिम बढेको छ ।

मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिँदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो ।

अविरल वर्षासंगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका जिल्ला प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले आइतबार साँझ करिव ७ बजेदेखि साङ्ता खोला थुनिएको जानकारी दिनुभयो ।

साङ्ता हुँदै बग्ने ठाँडो खोला पहिरो खसेपछि थुनिएको हुनसक्ने प्रजिअ केसीको भनाइ छ ।

यसैगरी मुक्तिनाथबाट बहने वारागुङ-२ छेङ्गुर ,झोङ, पुडाकबाट बहने ३ वटा शाखा नदीको बहाव उच्च हुँदा कागबेनी गाउँमा बाढीको त्रास बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार अहिले ठाडो खोलाको बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको छ ।

‘कागबेनीमा ठाडो खोलाले श्राद्धस्थल ,धर्मशाला र केही घरहरु जलमग्न भएका छन,’ अध्यक्ष गुरुङले भन्नुभयो –  ‘गाउँ भित्रको अस्थायी पुल पुलेसा र एक घर बगाएको जानकारीमा आएको छ, अहिले रात परेर क्षतिको विवरण एकिन गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङले अविरल वर्षासँगै आएको बाढी कागबेनीको तटीय क्षेत्रको बस्तीमा पसेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको बताएको छ ।

’कागबेनी र त्यस आसपासका बस्तीमा बाढीको जोखिम बढेको,स्थानीय बाढीको त्रासमा छन्,प्रजिअ केसीले भने, प्रहरी र प्रशासनले बाढीको अवस्था र स्थानीयसँग समन्वय र सहकार्य गरिहेको छौं,हामी तैयारी अवस्थामा बसेका छौं, रातिका समय भएकाले केही असहज भएको छ ।’

कागबेनीका एक स्थानीयले दिएको जानकारी अनुसार कागबेनीको गुम्बा,स्कुल, प्रहरी चौकी र एक दर्जन बढी घरहरुमा बाढी पसेको छ । बाढीले कोरला नाका जाने कागबेनीमा निर्माणधिन पक्की पुलसमेत बगाएको आशंका गरिएको छ ।

कागबेनी माथिका शाखा खोलाको बहाव उच्च हुँदा कालिगण्डकी नदीको सतहसमेत उच्च भएको बताइएको छ ।

कागबेनी माथिको शाखा खोला थुनिएको थााहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको छ ।

अहिले स्थानीयहरु घर बाहिर निस्किएर खोलाको सतह नियालिरहेका छन् ।

कागबेनी गाउँको तल्लो बस्तीका दुई दर्जन घरहरुका स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । अहिले सम्म मानवीय क्षति नभएको प्रशासनले बताएको छ ।

राति अबेर मात्र बाढी आएकाले क्षतिको विवरण एकिन गर्न सकिएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.