सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।
पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रुपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेथिती देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।”
प्रधानमन्त्रीले आफूहरु सही बाटो हिँडेको उल्लेख गर्नुहुँदै भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताउनुभयो । उहाँले आफूहरुको कदमले प्रतिक्रियावादीमा आतङ्क सिर्जना भएको पनि दाबी गर्नुभयो । “उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौँ । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा नयाँ ढङ्गले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले तीनमहिने अभियानले पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताउनुभयो । “हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशमा आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।
उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताउनुभयो । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको मात्रै नभएको उहाँको धारणा थियो ।
बैठकले ती प्रश्नहरुको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरी छाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । बैठकमा बागमती प्रदेश मातहत रहेका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.