निर्माण व्यवसायीको लापरबाहीले विद्यालय जोखिममा

गुल्मी- निर्माण व्यवसायीले सडक निर्माणको काम अलपत्र पार्दा विद्यालय जोखिममा परेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर १ मा रहेको हिमालय माध्यमिक विद्यालय सडक बिस्तारको क्रममा समयमै संरचना निर्माण नगर्दा जोखिममा परेको हो ।

रातचौर, ताल्तुङ्ग, उजुङ्गधारा, हर्पुकोट, नयाँ पोखरा, इस्मा मैदान सडक अन्तर्गत हिमालय माध्यमिक विद्यालयको आडैमा सडक बिस्तारको क्रममा लगाउनुपर्ने पर्खाल समयमै नलगाउँदा विद्यालय जोखिममा परेको छ । विद्यालय भवनको नजिकै निर्माण गर्नुपर्ने सडक पर्खाल केहि निर्माण गरिएको छ ।

केहि खनेर मात्रै छोडिएकाले वर्षातको समयमा विद्यार्थीले जोखिम मोलेरै पठनपाठन गर्दै आएका छन् । निर्माण व्यवसायीले विद्यालयको खेलकुद मैदानमा समेत ढुंगा थुपारिदिएकाले विद्यार्थीहरु खेलकुद र बिहानी पिटी प्रर्दशन समेत गर्न पाएका छनैन् ।

ठेकेदारहरु बिच बिचमा हराउने गर्नाले विद्यालयमा समयमै संरचना लगाउन नसकिएकाले जोखिम बढदै गएको इस्मा गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष शेरबहादुर कुँवरले बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीलाई पटकपटक तोकेता गर्दा समेत समयमै काम नगरिदिएको बताउनुभयो । जसले गर्दा अहिले विद्यालयमा पठनपाठनमा समस्या हुँदै आएको वडाअध्यक्ष कुँवरको भनाइ छ । रातचौर, ताल्तुङ्ग, उजुङ्ग धारा हर्पुकोट नयाँ पोखरा इस्मा मैदान सडक २०७४ साल साउन सम्झौता भएको थियो ।

सडक ०७६ सालमा सम्पन्न गर्नुपर्ने थियो । तर चार पटक म्याद थप्दा समेत उक्त सडक अझै बन्न नसकेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताउनुभयो ।

उक्त सडक रैताहा हरिहरि जेबि निर्माणको जिम्मा लिएर बिभिन्न ठेकेदारहरुले पेटी ठेक्कामा काम गर्दै आएका छन् । सडकको अहिले ८० प्रतिशत भौतिक प्रगति भएको छ । कुल १३ किलोमिटर काम ग्राभेल नालि निर्माण गर्ने सडकको ८ किलोमिटरमा केहि ठाउँमा नालि पर्खाल लगायतका संरचना निर्माण र ग्राभेल गर्न बाँकी रहेको छ ।

१५ करोड ४१ लाख रुपैयाँको लागतमा निर्माण हुने सडक ग्रामीण भेगमा पुग्ने निकै महत्वपूर्ण सडक हो । सडक निर्माणमा धेरै समय लाग्दा चौतर्फी रुपमा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.