दुई चिकित्सकमाथि हातपात गर्ने चार पक्राउ

मकवानपुर: हेटौँडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा तथा डा प्रशान्त बिराडीमाथि बुधबार अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो । उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

घटना विवरणअनुसार एक महिना अगाडि डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो । सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो ।

त्यहाँ मेडिकल कलेजमा डेङ्गु सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक प्रधानका आफन्तको एक आक्रोशितसमूहले चिकित्सकमाथि हातपात गरेको थियो ।

कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको बताइएको छ । साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पनि आन्दोलित चिकित्सकसँगको छलफलमा कुटपिटमा संलग्नलाई कारबाही गर्ने आदेश दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.