पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको १०७ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं- नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पठाएपछि भारत निर्वासनमा जानुपरेको थियो ।
निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो । सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेससंगको एकता पछि २००७ सालको क्रान्ति सफल भएको हो ।
दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले संसद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको छ । विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो ।
विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि बन्दी बनाइएका कोइराला विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो ।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएका बीपीको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएका कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । बिपीको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्